२३ बैशाख, काठमाडौं । नेपालगञ्जमा मंगलबार बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण मार्फत जानकारी दिएको छ ।
थपिएका ७ जनामा नेपालगञ्ज ८ निवासी २२, ३०, ४० बर्षका पुरुषहरु र ९ वर्षकी बालिका सँगै ३२, ३४ र ५५ बर्षका महिलाहरु छन् । संक्रमित सबैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरु ७ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै नेपालगञ्जमा मंगलबार बिहानसम्म २३ जना कोरोना भाइरसको संक्रमित पुगेका छन् ।
यसअघि नेपालगञ्जमा आज आइतबार दिउँसो ९ जना र साँझ ५ जना गरी एकैदिन १५ जना संक्रमित थपिएका थिए । १९ गते नेपालगञ्जका एक पुरुषमा कोरोना संक्रमण भेटिएकोमा उनको सम्पर्कमा आएका ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यसअघि नेपालगञ्जका सबै संक्रमितहरुको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले बताएका छन् । मंगलबार बिहान ७ जना संक्रमित देखिएसंगै प्रदेश नं ५ मा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
कोरोना संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा बैशाख २२ गतेदेखि २५ गते सम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भइसकेका छन् । नेपालमा अब जम्मा ६६ जना एक्टिभ संक्रमित रहेका छन् । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।