बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोना भाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने ‘यो बर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ’ ।
संसारभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् । तर धेरै विज्ञहरू यस्तो खोप सबैका लागि भने सन् २०२१ तिरमात्रै उपलब्ध हुने विश्वास गछन् ।
आफ्ना स्वास्थ्य सल्लाहकारहरूले यति छिटो समयावधिमा खोप उपलब्ध हुन गाह्रो हुने बताएपनि ट्रम्पले भने सन् २०२० भित्रै खोप बनिसक्ने विश्वास गर्छन् । उनले भने, ‘चिकित्सकहरूले मलाई यस्तो भन्न हुँदैन भन्छन् तर म आफूलाई लागेको कुरा बोल्छु’ ।
खोप सन् २०२० भित्रै बन्न सक्ला त ?
सियाटलमा कोरोना भाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी भइसकेको छ ।
तर त्यो खोप मानवमा सुरक्षित छ कि छैन भनेर गरिएको परीक्षण सफल भएपनि त्यसपछि त्यसको दोस्रो परीक्षण हुनुपर्छ र नियामक निकायले त्यसलाई अनुमति दिनुपर्छ । त्यसपछि खोप ठूलो मात्रामा उत्पादन गर्ने प्रक्रिया शुरू हुन्छ ।
खोप तयार गर्न समान्यतया बर्षौँ मात्र होइन दशकौँ सम्म लाग्न सक्छ ।
अनुसन्धानकर्ताहरूले केही महिनाभित्र यो लक्ष्य पूरा गर्ने अपेक्षा गरिरहेका छन् ।
खोपबारेका महत्वपूर्ण तथ्यहरुः
अधिकांश विज्ञले सन् २०२१ को मध्यसम्म खोप तयार हुने ठानिरहेका छन् ।
यो आधिकारिक रूपमा सार्स–सीओभी–२ भनिने नयाँ कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा पहिला देखिएको १२ देखि १८ महिनाको अवधि हो ।
लक्ष्य पूरा भए त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनेछ, तर सोचेअनुरूप हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन ।
मानव शरीरमा चार थरीका कोरोना भाइरस अहिले नै देखापरेका छन् । तिनीहरूले रुघाखोकी लगाउँछन्, तर हामीसँग तिनीहरूमध्ये कसैको पनि खोप छैन ।