काठमाडौं । नेपालमा शुक्रबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित झापाका ६२ बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको स्वाव परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले अस्पतालको आइसोलेशनमा उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् । शुक्रबार एक जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमणको एक्टिभ केश संख्या ३९ भएको छ । संक्रमितहरु सबै उपचाररत रहेका छन् ।
यसअघि बिहीबार मात्रै तीन जना कोरोना संक्रमित थपिएका थिए भने तीनै जना निको भएर घर फर्किएका थिए । उपचाररत सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।