काठमाडौं । शुक्रबार साँझ झापा दमकका ६२ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । संक्रमणको श्रोत दुवईबाट आएका छोरा रहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत चैत ४ गते संक्रमितका छोरा दुवईबाट नेपाल आएका थिए । नेपाल आएपछि परिवारका सबैको आरडिटि परीक्षण गरीएको थियो । संक्रमित ६२ बर्षीय पुरुष सहित दुवईबाट आएका उनका छोरा र बुहारीमा आरडिटि टेस्ट रिपोर्ट पोजिटिभ आयो । आरडिटि पोजिटिभ देखिएका तिनैजनाको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ६२ बर्षका बुबामा मात्र रिपोर्ट पोजिटिभ आएको हो ।
दुवईबाट आएका छोरामा नेगेटिभ तर यहीँ रहेका बुबामा पोजिटिभ रिपोर्ट आएपछि रोग प्रतिरोधात्मक क्षमताका कारण छोरामा नेगेटिभ र बुबामा पोजिटिभ आएको चिकित्सकहरुको अनुमान छ । संक्रमित मधुमेहको रोगी समेत रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।
युवाले परिवारमा अरुलाई संक्रमण सारीसकेपछि उनमा भने एन्टिबडी विकास भएको चिकित्सकहरुको अनुमान छ । उनकी श्रीमतिमा पनि आरडिटि पोजिटिभ देखिएकोमा एन्टिबडीकै कारण उनीहरुमा कोरोना भाइरस निस्क्रिय भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । यद्यपी तथ्य थाहा पाउन भने अनुसन्धानमा नै केन्द्रित हुनुपर्ने र समय लाग्न सक्ने चिकित्सकहरुको भनाई छ ।