काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको एक्टिभ केश शुन्यमा झरेको छ । बिहीबार पाटन अस्पतालमा २ र टेकु अस्पतालमा १ जना संक्रमित पनि उपचार पश्चात् निको भएपछि काठमाडौं उपत्यकाका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
काठमाडौंमा जम्मा ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको थियो । संक्रमित मध्ये ३ जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र पेप्सीकोला सनसिटी अपार्टमेन्टका २ जनाको पाटन अस्पतालमा उपचार भएको थियो ।
यसअघि दोस्रो संक्रमित युवती काठमाडौंकी प्रसिद्धि श्रेष्ठ तीन हप्ता उपचारपश्चात् निको भएर डिस्चार्ज भएकी थिइन् । अन्य संक्रमितको पनि अवस्था सामान्य रहेकोले निको हुने विश्वास अस्पतालहरुको छ ।
यससंगै नेपालमा जम्मा १० जना कोरोना संक्रमित निको भएका छन् । अहिले जम्मा ३८ जनामा मात्र एक्टिभ संक्रमण रहेको छ । संक्रमित सबै उपचाररत छन् भने उनीहरुको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार ३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५५ बर्षीय महिला, १४ बर्षीय किशोर र २६ बर्षीय युवक रहेका छन् । जनकपुरका १४ बर्षीय किशोर नेपालमा भेटिएका सबै भन्दा सानो उमेरका संक्रमित हुन् । यसअघि नेपालमा बालबालिकामा संक्रमण देखिएको थिएन ।