२४ असोज, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । भट्टराईले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, त्यसक्रममा काठमाडौँ बाहिरका केहि कार्यक्रमहरुमा सहभागी पनि भएँ, हिँजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो, भट्टराईले लेखेका छन् ‘आज शनिबार पुनःपरीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी पाएको छु ।’
हाल सामान्य ज्वरो बाहेक स्वास्थ्यमा अरु कुनै समस्या नआएको पनि उनले जानकारी दिएका छन् । साथै उनले केहि दिन यता आफुसँग सम्पर्कमा आएका सबैलाई आवश्यक सतर्क रहन र कुनै स्वास्थ्य समस्या आएमा कोरोना परीक्षण गरी ढुक्क हुन पनि आग्रह गरेका छन् ।
भट्टराईले आफ्ना कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै भनेका छन्, ‘होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै विकल्प छ र ?’
यसअघि प्रधानमन्त्रीका मुख्य ३ सल्लाहकार सहित बालुवाटारमा खटिएका सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको थियो ।
