३२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भए यता उपत्यकामा एकै दिन पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भएका हुन् ।
उपत्यकाको काठमाडौँ जिल्लामा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मुलुकभरी ६४१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ८८६ जना पुगेका छन् । काठमाडौँमा १ हजार ४८७, ललितपुरमा २५९ र भक्तपुरमा १२४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।