२३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशको जुम्लाबाट पनि कोरोना भाइरस पत्ता लगाउने पिसिआर परीक्षण सुरु गरिएको छ । हिँजो सोमबारदेखी नै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट पसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट पनि पिसिआर परीक्षण सुरु गरेसंगै नेपालभर १८ वटा सरकारी प्रयोगशालाबाट कोभिड–१९ को पिसिआर परीक्षण हुनेछ । कोरोना भाइरसको संक्रमण भएनभएको पुष्टि गर्न पिसिआर परीक्षणको रिपोर्टलाई आधार मानिँदै आइएको छ ।
कोभिड–१९ को परीक्षणलाई सहज बनाउन सरकारले सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको पिसिआर परीक्षणलाई विस्तार गर्दै लगेको छ ।
स्वास्थ्य मन्त्रालयले निजि प्रयोगशालाले पनि कोभिड–१९ को संक्रमण पत्ता लगाउने आरडिटि तथा पिसिआर जाँच गर्न पाउने व्यवस्था गरिसकेको छ । तर हालसम्म निजि प्रयोगशालाहरुले कोरोना संक्रमणको परीक्षण सुरु गरीसकेका छैनन् ।
बाँकी सबै प्रदेशमा गरेर देशभरी ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कर्णाली प्रदेशमा मंगलबारसम्म ५ हजार ८७६ जनाको आरडिटि विधिबाट कोभिड–१९ परीक्षण गरिएको छ भने ३ हजार ७५४ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म कर्णाली प्रदेशमामात्र कोरोना संक्रमित फेला परेका छैनन् । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस फैलिन नदिनको लागि हिँजो सोमबार देखी नै एक साताका लागि प्रदेश सिल गरेको छ ।