१५ जेठ, काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै वार्ड स्थापना गरी उपचार गर्ने व्यवस्था मिलाउने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले एक सय शैया भन्दा ठूला स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि छुट्टै वार्ड स्थापना गरी उपचार गर्ने व्यवस्था मिलाइने बताए ।
त्यस्तै ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र, दिवा सेवा केन्द्र र आरोग्य आश्रम पनि सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सरकारले काठमाडौंको गोठाटारमा अस्पतालको सुविधासहित पाँच सय क्षमताको ज्येष्ठ नागरिक आवास निमार्णका लागि समेत आवश्यक बजेटको व्यवस्था समेत गरेको छ ।
एकल महिला, विधवा तथा विधुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय, आफ्नो परिवार र संरक्षण नभएका ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचार र संरक्षणको व्यवस्था पनि सरकारले गर्ने भएको छ ।
त्यस्तै अल्जाइमर्स लगायत बढ्यौलीका रोगबाट प्रभावित ज्येष्ठ नागरिकको निःशुल्क औषधोपचार हुनेछ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा रु १ अर्ब २० करोड विनियोजन गरिएको छ ।