भैरहवा । नेपाल आउने क्रममा सुनौली नाकामा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ ।
सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । नेपाल आउँदै गरेका पश्चिम नवलपरासीका ती ३५ वर्षिय पुरुषको बुधबार बिहान सुनौलीमा मृत्यु भएको थियो ।
उनको स्वाव परीक्षणका लागि भारतीय पक्षले प्रयोगशाला लगिसकेको र रिपोर्ट आइसकेपछि शव ल्याएर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पन्थले बताए । भारतको मुम्बईबाट घर आउने क्रममा सुनौलीमा अचानक विरामी परेपछि ती नेपालीको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउंपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षिय पुरुष हुन् । तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीनजना साथीसहित बसमा हिंडेका युवक बिहान करिब ४ बजे सुनौली आइपुगेका थिए ।
सुनौली बजारमा बसेका ती युवकलाइ विहान वान्ता भएको र पछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताए । ‘नवलपरासी कुडिया ७ ठेगाना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो’–अधिकारीले बताए । उनको मृत्युको कारण भने यकिन भइसकेको छैन ।