२८ जेठ । इरानमा गत फेब्रुअरीदेखि सुरु भएको कोरोना सक्रमण अहिलेसम्म त्यहाँको जनसंख्याको औसत पाँच जनामध्ये एकमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका सदस्य एहसान मोस्तफावीले इरानमा एक करोड ५० लाख नागरिकले कोरोना भाइरसको सङ्क्रमणजन्य समस्याको सामना गरेको बताएका छन् । कोरोना भाइरस इरानी वा समग्र विश्वले कल्पना गरेभन्दा कम घातक रहेको मोस्तफावीले दाबी गरेका छन् ।
इरानले सार्वजनिक गरेको कोरोना अध्ययन कार्यदलको तथ्याङ्कले आठ करोड जनसङ्ख्या रहेको इरानमा १८.७५ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको प्रक्षेपण गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मङ्गलबार थप ७४ जनाको मृत्यु भएको छ ।
हालसम्म इरानमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ४ सय भन्दा बढी छ । यसैगरी संक्रमित हुनेको संख्या १ लाख ७५ हजार ९ सयभन्दा बढी छ । गएको २४ घण्टामा मात्रै थप २ हजार ९५ जना सङ्क्रमित भेटिएका छन् ।
विश्वमा हालसम्म कोरोनाको संक्रमणका कारण ४ लाख ८ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यसैगरी विश्वभर संक्रमित हुनेको संख्या पनि ७१ लाख ८५ हजार नाघिसकेको छ ।
विश्वमै कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा प्रभावित छ । अमेरिकामा मात्रै हालसम्म कोरोना भाइरसको संक्रमणका कारण १९ लाख ७३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि १ लाख ११ हजारभन्दा बढी छ ।