२४ असार, काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन बिहीबार दिउँसो चीन जाने भएको छ ।
चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको वाइडबडी ए–३३० जहाज दिउँसो ३ः२५ मा बेइजिङ उड्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जहाजले शुक्रबार खोप नेपाल ल्याउनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार सहित आगामी ३ वटा उडानमार्फत खोप ल्याइनेछ । खोप ल्यानका लागि बिहीबारसहित असार ३१ र साउन ७ गते पनि जहाज चीन जाने उनले बताए ।
पौडेलका अनुसार चीनबाट आउन लागेको खोप ठूलो परिमाणमा आउन लागेको भएपनि कति परिमाणमा आउँछ भन्ने एकिन भएको छैन । खोपको परिमाणबारे पहिलो उडानमार्फत नेपाल आएपछि मात्र थाहा हुने उनले बताए ।
चीनबाट खरिद गरिएको खोप ६० वर्ष मुनिका
नागरिकहरुलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
सरकारले (जिटुजी) मार्फत चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद सम्झौता गरेको छ ।