१४ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट आइतबार १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौँकी ७२ वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीका ६० वर्षीय एक पुरुष, मोरङका ६२ वर्षीय एक पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, रौतहटका ३० वर्षीय एक पुरुष, ललितपुरका २९ वर्षीय एक पुरुष, भक्तपुरका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमणकै कारण नवलपरासीका ६२ वर्षीय एक पुरुष, रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।