१६ भदौ, काठमाडौं । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङसँगै उनका छोरा पनि कोरोना मुक्त भएको उपसभामुख तामाङले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छन् ।
उपसभामुख तमाङ कोरोना सङ्क्रमण पुष्टि भएसँगै विगत १४ दिनदेखि होम आइसोलेसनमा थिइन् । तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नेे सबैप्रति आभार व्यक्त गरिन् । “राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो ” । तामाङले भनेकी छन् “यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने बागमती प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु” ।
कोरोना संक्रमण मुक्त भएपछि तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको भन्दै सङ्क्रमण भइहालेमा आतङ्कित नभई आवश्यक सतर्कताा अपनाउन तथा मुख्यगरी कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्न सुझाव दिएकी छन् ।
उनले सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन समेत आग्रह गरेकी छन् ।