Nepal's Trusted Health Online Portal

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशः सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने

Get real time updates directly on you device, subscribe now.

७ जेठ, काठमाडौँ । सरकारले कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा गम्भिर प्रभाव पर्ने देखिएमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेशमा सरकारले देशभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेश अनुसार स्वास्थ्य आपतकाल घोषणा भएमा सरकारले स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सक्नेछ ।

त्यस्तै जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को निदान वा उपचारका काममा लगाउन सक्नेछ ।

आपतकालको अवस्थामा संघिय, प्रदेश वा स्थानिय तह मातहतका शिक्षण संस्था, प्रतिष्ठान लगायतका भवन, सवारी साधन तथा जनशक्तिलाई समेत कोभिड–१९ को निदान वा उपचारका लागि खटाउन सक्नेछ ।

त्यस्तै आपतकालमा सरकारले सबै सरकारी, गैह्रसरकारी, सामुदायिक तथा निजी संस्थाबाट उत्पादित स्वास्थ्य सामग्री तथा औषधी नियन्त्रणमा लिई वितरण गर्न सक्नेछ ।

अध्यादेश बमोजिम उल्लेखित मापदण्ड पालना नगरेमा ६ महिना सम्म कैद वा रु.तीन लाख सम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.