२३ असोज । कोरोना संक्रमण भएको व्यक्ति अनिवार्य आइसोलेसनमा नबसे ६ महिना सम्म जेल सजाय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिए ।
कोभिड १९ पोजिटिभ आएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको रिपोर्ट प्राप्त भएको छ, प्रवक्ता गौतमले भने ‘कोरोना पोजिटिभ आएका कोही व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ भने त्यस्तो अवस्थामा घर परिवार छिमेकीले समेत अनुगमन गरी पत्ता लगाईकन मन्त्रालयलाई खबर गरिदिन अनुरोध छ ।’
साथै संक्रमित व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ, अरुको सम्पर्कमा आएको छ भने संक्रामक रोग ऐन अनुसार ६ महिना सम्म जेल सजाय हुने व्यवस्था रहेको पनि गौतमले बताए ।
उनले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुलाई सूचना गरिसकेको र सोही अनुसार आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई पक्रेर सजाय दिन अनुरोध गरे ।
त्यस्तै कोरोनाको स्वाब परीक्षण गर्न दिएपछि नतिजा नआउँदा सम्म पनि अनिवार्य क्वारेन्टिनमा बस्न उनले आग्रह गरेका छन् ।