Nepal's Trusted Health Online Portal

फेसबुक मेसेन्जर, ह्वाट्सएपमा कोभिड-१९ को औषधिबारे सूचना भ्रामक

Get real time updates directly on you device, subscribe now.

साउथ एसिया चेक । केही दिनदेखि फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतको पोन्डिचरी विश्वविद्यालयका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश फैलिएको छ ।

अंग्रेजीमा लेखिएको उक्त सन्देशमा भनिएको छ, “अन्ततः पोन्डिचरी विश्वविद्यालयका भारतीय विद्यार्थी रामुले कोभिड-१९ को घरेलु उपचार पत्ता लगाएका छन् । यसलाई पहिलोपटक विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको छ । दुई चम्चा मह र अदुवाको जुसमा एक चम्चा मरिचको धुलो मिसाएर लगातार ५ दिन सेवन गरेमा कोभिड-१९ निको हुन्छ । विश्वले नै यो उपचारलाई स्वीकार गर्न थालेको छ । कृपया यो सूचना आफ्नो परिवारका सदस्य र साथीहरुलाई पठाउनु होला ।”

फेसबुक र ट्वीटरले भ्रामक सूचना फैलिनबाट रोक्ने कोशिश गरेकाले  केही समय यता यस्ता सन्देश आफुले पठाएका व्यक्तिलेमात्र हेर्नसक्ने फेसबुक मेसेन्जर, ह्वाट्सएपजस्ता कुरानकानीका लागि बढी प्रयाग गरिने ‘क्लाेज च्याट साइट’ मा फैलिएको देखिन्छ । यी दुई एप नेपालमा पनि परिवारका सदस्यबीच कुराकानीका लागि बढी प्रयोग गरिन्छ ।

सामाजिक सञ्जालमा भाइरल हुने अधिकांश सामग्री जस्तै यो पनि कहाँबाट, कसले, कहिले शुरु गर्यो भन्ने यकिन गर्न गाह्रो छ । अधिकांश नेपाली प्रयोगकर्ताले ‘लिलियन थोमस’ काे नाममा पठाइएको ह्वाट्सएप सन्देशलाई आफ्नो सम्पर्कमा रहेकालाई पठाएको देखिन्छ । सोही सन्देश फेसबुक मेसेन्जरमा पनि फैलिएको पाइएको छ । यही सन्देश रेडिट भनिने अर्को छलफल  र समाचारका लागि लाेकप्रिय साइटमा पनि शेयर गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले हालसम्म कोभिड-१९ को औषधि नभएकोले त्यसका लागि परीक्षण र अनुसन्धान जारी रहेको जनाएको छ । उक्त संस्थाले घरेलु औषधिले यो सरुवा रोग निको हुन्छ भन्ने कुरा हालसम्म प्रमाणित नभएको पनि जनाएको छ । अदुवालाई अन्य कुनै चिजसँग मिसाएर सेवन गर्दैमा यो रोगबाट पार नलाग्ने अमेरिकाको नेसनल एकेडेमिज अफ साइन्सेज, इन्जिनियरिङ, मेडिसिनले जनाएको छ । “अरु केहीमा अदुवा मिसाएर (जस्तै चिया वा मह) सेवन गरेर कोरोनाभाइसलाई मार्न सकिँदैन,” उक्त संस्थाको वेबसाइटमा भनिएको छ ।

हामीले संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारीलाई सम्पर्क गरी उक्त सन्देशमा उल्लेखित उपचारबारे जानकारी लियौँ । “अदुवालाई महसँग मिसाएर सेवन गरेमा कोभिड-१९ निको हुन्छ भन्ने कुरा प्रमाणित होइन,” उनले साउथ एसिया चेकलाई बताए, “आयुर्वेद विज्ञानले यसको पैरवी गर्ला तर मेरो विचारमा यसले उपचार हुन्छ भन्ने हालसम्म वैज्ञानिक रुपमा पुष्टि भएको छैन ।”

मुख्यतया ह्वाट्स एपबाट फैलिएको उक्त सन्देशमा उल्लेखित घरेलु उपचार विधि खोकीका लागि काम लाग्नसक्ने भएता पनि हालसम्म उपचार पत्ता नलागेको कोभिड-१९ विरुद्ध प्रभावकारी नहुने विज्ञहरुको ठहर छ । त्यसैले उक्त सूचना भ्रामक रहेको पाइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.