८ असोज, काठमाडौँ । बिहीबार देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा कोभिड पोजिटिभ देखिएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । जसमध्ये ५० हजार ४ सय ११ जना निको भइसकेका छन् । अब नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.७ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा र ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर बिहीबार २३२ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने २८ जना भेन्टिलेटरमा रहेका छन् ।
गत २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमण मुक्त छन् ।