१२ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान झापा दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङ बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका अनुसार झापाका पुरुषको बिहान ३:४५ बजे मृत्यु भएको हो । उनलाई खोकी, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो । भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । मृगौलाको दीर्घ रोगी उनलाईमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै मोरङकी महिलाको पनि बिहान ३:१४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि कोशीमा भर्ना गरिएको थियो । भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो ।
अहिले मृतक दुवैको शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको अस्पलात स्रोतले जानकारी दिएको छ । योसँगै प्रदेश नं १ मा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।