१८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित ६१६ जना पुगेका छन् ।
काठमाडौँमा ४५०, ललितपुरमा १०५ र भक्तपुरमा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार मुलुकभरी थपिएका २४६ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ३१ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ८ जना, वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका ३ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।