१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–१६ निवासी ६८ बर्षीय महिलाको मृत्यु भएको छ । उनको साउन १७ गते बेलुकी नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भएपछि साउन १४ गते उनलाई नारायणी बयोधा अस्पताल विरगञ्जको आइसियुमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि साउन १७ गत बेलुकी नारायणी कोभिड अस्पतालमा रिफर गरिएकोमा उनको बाटैमा मृत्यु भएको थियो । उनी मधुमेह तथा उच्च रक्तचापको रोगी थिइन् ।
योसँगै नेपालमा कोभिड–१९ का कारण ५७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० हजार ३३२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १४ हजार ६०३ (७१.८ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।