३ असार, काठमाडौं । नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४० जना महिला र ५४६ जना पुरुष गरी ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
संक्रमित मध्ये अहिलेसम्म १ हजार १६७ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना पुरुष उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एकजना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
सोमबार बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बाँके, बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीय महिलाको मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो ।