Nepal's Trusted Health Online Portal

प्रोटिनयुक्त खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

Get real time updates directly on you device, subscribe now.

७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रोटिनयुक्त खानपानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालमा अझै पनि आम समुदायमा प्रोटिनको उपलब्धता सोचे जति पुग्न नसेको बताए ।

आम समुदायमा प्रोटिनको उपलब्धताका लागि सरकारले निरन्तर प्रयास गरिरहेको पनि प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था उल्लेख गर्दै प्रचण्डले पुड्कोपना र कुपोषणको समस्याबाट विशेष गरी गरीबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको बताए ।

उनले पहिलो १००० दिनमा बालबालिकाहरुलाई उपलब्ध हुने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको बताए ।

नेपाल सरकारले गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।

सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गरिने बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल भेटेरिनरी एशोसिएसनले नेपाल दाना उद्योग संघ र सम्बन्धित सरोकारवालाहरुको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथन लगायतका दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा हार्दिक बधाई दिए ।

‘‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ । नेपाल सरकारका तर्फबाट भइराखेका प्रयासहरू पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्याङ्कले देखाएको छ । प्रधानमन्त्री प्रचण्डले भने ‘‘यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरूलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामीले पोल्ट्री व्यवसायमा झण्डै आत्मनिर्भर भएका छौँ । यो खुसीको कुरा हो ।”

उनले पोल्ट्री उद्योगहरुले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्याएकोमा समेत पोल्ट्री उद्योगका उद्यमी र कृषकहरुलाई धन्यवाद दिए ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.