२५ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना भारतीय नागरिक निको भएका छन् ।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १६ जना भारतीय जमाती सहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै मध्येका थप ८ जनामा पनि कोरोनाको संक्रमण नदेखिएको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुमध्ये कोरोना संक्रमण निस्क्रिय भएका ६ जनालाई यसअघि हिँजो बुधबार नै डिस्चार्ज गरिएको थियो ।
संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । उपचाररत एक महिला र सात जना पुरुषको पछिल्लो ३ पटक सम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिने छ । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा ३१ जना संक्रमित भर्ना भएका थिए । उपचाररत १४ जना निको भएपछि अब १७ जना एक्टिभ संक्रमित त्यहाँ उपचाररत हुने छन् ।
अस्पतालमा उदयपुरका २८ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका थिए । उपचाररत अरु ३ जनामा दुईजना झापा र एक जना भोजपुरका संक्रमित हन् ।