१८ बैशाख, काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहीबार निधन भएको छ । कपूरको ६७ बर्षको उमेरमा मुम्बईमा बिहीबार निधन भएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
कपूरको स्वास्थ्यमा समस्या आएपछि हिँजो मात्र मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सरको पेसेन्ट थिए । क्यान्सरसंगै उनलाई श्वासप्रश्वासको पनि समस्या थियो ।
बलिउड अभिनेता अमिताभ बच्चनले पनि एक ट्वीट गर्दै कपूरको मृत्युको पुष्टि गरेका छन् । ‘हि इज गन…ऋषि कपूर गन…जस्ट् पास्ड अवोय…आइ एम डिस्ट्रोएड’ अर्थात ‘उनी गए… ऋषि कपुर गए…भर्खरै बिते…म विक्षिप्त भएको छु’ बच्चनले ट्वीटमा लेखेका छन् ।
क्यान्सरका पेसेन्ट कपूर गत बर्ष करीब एक बर्ष अमेरिकामा उपचार गराएर मुम्बई फर्किएका थिए । अमेरिकाबाट उपचार गरेर फर्किपछि पनि स्वास्थ्यमा समस्या आएपछि उनी २ पटक अस्पताल भर्ना भएका थिए ।
बलिउडका बरिष्ठ अभिनेता कपूर अहिलेका चर्चित अभिनेता रणवीर कपुरको पिता हुन् । कपुरकी पत्नी नितू कपूर पनि बलिउडकी अभिनेत्री हुन् ।
यसअघि हिँजो मात्रै बलिउडका अर्का प्रख्यात अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा मुम्बईकै कोकिलाबेन धिरुभाइ अस्पतालमा निधन भएको थियो । खान पनि क्यान्सरकै रोगी थिए । बलिउडले दुई दिनमै एकपछि अर्को दिग्गज हस्तीहरु गुमाएको छ ।