१७ बैशाख, काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । खानको ५४ बर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधबार निधन भएको हो ।
खानको प्रवक्ताका अनुसार उनलाई ‘कोलन इन्फेक्सन’ भएको थियो । कोलोन इन्फेक्सन पेटको आन्ध्रासंग सम्बन्धित जटिल समस्या हो । खानको स्वास्थ्य खराब भएपछि उनलाई कोकिलाबेन धिरुभाइ अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । उनी दुई बर्ष देखी क्यान्सरको पेसेन्ट थिए । गत वर्ष खानलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएपछि लामो समय लन्डनमा उपचार गरेर फर्केका थिए ।
खानको जन्म भारतको जयपुर राजस्थानमा सन् १९६७ जनवरी ७ मा भएको थियो । केहीदिन अघि मात्र उनकी आमाको निधन भएको थियो । थिएटरबाट सिनेमामा आएका खानको यसअघि ‘अग्रेंजी मिडियम’ चलचित्र रिलिज भएको थियो । सोही सिनेमा नै उनको अन्तिम सिनेमा बन्न पुगेको छ ।
अभिनयबाटै प्रख्याति बटुलेका खानले पान सिंह तोमर, सलाम बम्बे, मकबुल, दि लञ्चबक्स, पिकु, तलबार जस्ता चर्चित चलचित्रहरुमा अभिनय गरेका छन् । उनले पान सिंह तोमर सिनेमाबाट बेस्ट एक्टरको नेशनल अवार्ड र हासिल, लाइफ इन मेट्रो, हिन्दी मिडियम सिनेमाबाट फिल्म फेयर अवार्ड पाएका थिए ।
बलिउडको अलावा उनले थुप्रै अन्तराष्ट्रिय चलचित्रहरुमा पनि काम गरेका छन् । डाइलग डेलिभरमा अत्यन्तै माहिर खानले स्लमडग मिलिनियर्स, जुरासिक वल्र्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाई जस्ता अन्तर्राष्ट्रियस्तरको ब्लगबस्टर सिनेमाहरुमा अभिनय गरेका छन् ।