काठमाडौं । नेपालमा १६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । यो संगै नेपालमा हाल कोरोना भाइरस (कोभिड–१९) को एक्टिभ केश ३६ मा सिमित भएको छ ।
आइतबार वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएसंगै निको हुनेहरुको संख्या १६ पुगेको हो । नारायणी अस्पतालबाट डिस्चार्ज हुने ४ जनामध्ये ३ जना भारतीय र १ जना नेपाली हुन् ।
अन्य संक्रमितहरु अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । उपचाररत संक्रमितहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेकोले सबै जना निको हुने विश्वास लिएको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा आइतबारसम्म आरडिटि र पिसिआर दुवै विधिबाट ५१ हजार ३ सय ६७ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ९ हजार ९ सय ३१ जनाको पिसिआर विधि र ४१ हजार ४ सय ३६ जनाको आरडिटि विधिबाट परीक्षण गरिएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ । डब्लुएचओले देशहरुको तयारी, चालेको कदम तथा संक्रमणको अवस्था हेरेर ५ लेबलमा विभाजन गरेको छ । सोही आधारमा डब्लुएचओले नेपाललाई लेबल ३ मा राखिएको छ ।
संक्रमितको संख्या तिब्ररुपमा वृद्धि नभएको, संक्रमितको मृत्यु पुष्टि नभएको, संक्रमितहरु निको हुँदै गएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको, सरकारले लकडाउनलाई कायम राखेर संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न प्रयास गरीरहेको कारण नेपाल लेबल ३ मा रहेको छ ।
हालसम्म विश्वभर २९ लाख ९५ हजार बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने २ लाख ७ हजारको मृत्यु भइसकेको छ । ७ लाख ७८ हजार बढी संक्रमितहरु भने उपचारपछि निको भएका छन् ।