२० बैशाख, काठमाडौं । प्रदेश नं १ मा कोरोना भाइरस परीक्षण गर्न थप एउटा पिसिआर मेसिन थपिएको छ । विराटनगरमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि पिसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
यसअघि प्रदेश नं १ मा कोशी अस्पतालको प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट कोभिड–१९ को परिक्षण हुने गरेको थियो । थप एक संगै प्रदेश नं १ मा अबदेखी दुईओटा प्रयोगशालाबाट कोभिड–१९ को पिसिआर परीक्षण हुनेछ ।
प्रदेश नं १ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि पिसिआर परीक्षण सुरु गरेसंगै नेपालभर अब १७ वटा सरकारी प्रयोगशालाबाट कोभिड–१९ को पिसिआर परीक्षण हुनेछ । कोरोना भाइरसको संक्रमण भएनभएको पुष्टि गर्न पिसिआर परीक्षणको रिपोर्टलाई आधार मानिँदै आइएको छ ।
कोभिड–१९ को परीक्षणलाई सहज बनाउन सरकारले सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको पिसिआर परीक्षणलाई विस्तार गर्दै लगेको छ । यसअघि शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पनि कोभिड–१९ परीक्षणको दायरा बढाएर प्रत्येक परिवारसम्म पुर्याउन निर्देशन दिएको थियो ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाका न्युनतम मापदण्ड जारी गरेर निजि प्रयोगशालाले पनि कोभिड–१९ को संक्रमण पत्ता लगाउने आरडिटि तथा पिसिआर जाँच गर्न पाउने व्यवस्था गरेको छ । तर हालसम्म निजि प्रयोगशालाहरुले कोरोना संक्रमणको परीक्षण सुरु गरिसकेका छैनन् ।
प्रदेश नं १ मा शनिबारसम्म ५ हजार २८२ जनाको आरडिटि विधिबाट कोभिड–१९ परीक्षण गरिएको छ भने २ हजार ८६५ जना क्वारेन्टाइनमा रहेका छन् । हाल प्रदेश नं १ मा सबैभन्दा बढी ३१ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।