२० बैशाख, काठमाडौं । अमेरिकाले रेमडेसिभिर औषधिलाई कोरोना भाइरस (कोभिड–१९) को उपचारमा प्रयोग गर्नका लागि अनुमति दिएको छ । अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले कोभिड–१९ सङ्क्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको बिबिसीले जनाएको छ ।
एफडीएले यो औषधि आपतकालीन प्रयोगको लागि मात्र अनुमति दिएको हो । यो एन्टीभाइरल औषधि रेमडेसिभिर कोरोना भाइरसको गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीलाई दिइनेछ ।
रेमडेसिभिर अमेरिकाको गिलियड कम्पनीले निर्माण गरेको हो । यो औषधि कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको छ । औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनले देखाएको छ ।
विज्ञहरूले भने अमेरिकी कम्पनी गिलियडले इबोलाको उपचारका लागि विकास गरेको यो औषधि कोरोना भाइरस विरुद्ध अचूक औषधि नभएको बताएका छन् ।
रेमडेसिभिर उत्पादक कम्पनी गिलियडले १५ लाखको मात्रामा उक्त औषधि सहयोगमा दिने पनि बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृति महत्वपूर्ण पहिलो कदम भएको बताए । राष्ट्रपति ट्रम्पले शुरूदेखि नै कोरोना भाइरस संक्रमितको उपचारमा रेमडेसिभिरको समर्थन गर्दै आएका छन् ।
१ हजार ६३ कोभिड–१९ को गम्भीर लक्षण भएका बिरामीहरुलाई सामेल गरिएको अध्ययनमा रेमडेसिभिर दिएका बिरामीहरू अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो ।
यो औषधिले संक्रमितलाई निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्षको उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको बताइएको छ ।