Nepal's Trusted Health Online Portal

चीनको ल्याबबाटै कोरोना भाइरस फैलिएको डोनाल्ड ट्रम्पको दाबी

Get real time updates directly on you device, subscribe now.

१९ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण रहेको दाबी गरेका छन् । बिहीबार राति भएको पत्रकार सम्मेलनमा ट्रम्पले उक्त कुरा बताएका हुन् ।

ट्रम्पले उक्त कुरा आफैले देखेको समेतको बताएका छन् । उनले चीनको वुहानस्थित इन्स्टिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको आधारहिन आरोप लगाएका छन् । जुन आफ्नै खुफिया एजेन्सीको रिपोर्ट विपरित हो ।

पत्रकार सम्मेलनमा एक पत्रकारको प्रश्नको उत्तर दिँदै ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको आफुसंग प्रमाण रहेको र आफुले देखेको बताएका हुन् । ‘तपाईंले भने जस्तै चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको तपाईंसँग प्रमाण छ ?’ पत्रकारले सोधेका थिए । जवाफमा ट्रम्पले ‘छ मसँग । यो मैले तपाईहरुलाई भन्न मिल्दैन ।’ भनेका थिए ।

ट्रम्पले चीनबाट कोरोना भाइरस फैलाउने काम भुलवस वा जानीजानी भएको हो भन्ने चाहिँ स्पष्ट नभएको र यसको जवाफ पाउन बाँकी रहेको बताए । उनले पटक पटक चीनले कोरोना भाइरस फैलाएको आरोप लगाउँदै आएका छन् । चीनले भने आरोपको खण्डन गर्दै आएको छ । यसअघि ट्रम्पले आफुलाई दोस्रो कार्यकाल निर्वाचित हुनबाट रोक्न चीनले जे पनि गर्न सक्छ भनेका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई समेत चीनको पक्षपोषण गरेको आरोप लगाएका छन् । उनले (डब्ल्यूएचओ)लाई लाज लाग्नुपर्ने टिप्पणी गर्दै (डब्ल्यूएचओ)ले चीनको पब्लिक रिलेसन स्पिकर जसरी काम गरेको भनेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उत्पत्तिबारे आधारहीन आरोप नलगाउन सबैलाई चेतावनी दिँदै आएको छ ।

अहिलेसम्म कोरोना भाइरस कुनै प्रयोगशालामा तयार पारिएको भन्ने ठोस प्रमाण भने छैन । वैज्ञानिकहरुले चमेरोबाट समुद्री जीव हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण सरेको बताउँदै आएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका सबैजसो देशमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा हालसम्म १० लाख ६९ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ६३ हजार बढी मानिसहरुको ज्यान गइसकेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.