काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक मिडियामा बोलेको र प्रचारबाजी गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण मागेको छ ।
मन्त्रालयले शुक्रबार साँझ टेकु स्थित डा.पुन कार्यरत अस्पतालमा पत्र पठाएर स्पष्टिकरण मागेको हो । कोरोना भाइरस (कोभिड–१९) को विषयलाई लिएर अनावश्यक रुपमा बोलेको भन्दै मन्त्रालय असन्तुष्ट रहेको छ ।
पुनले भने आफुले मानिसमा चेतना जगाएको कुरा मन्त्रालयका केहीले नसहेको र आफुले अनावश्यक कुरा नबोलेको भन्दै जस्तोसुकै प्रश्नको पनि सामना गर्ने बताएका छन् । अगाडी देखी नै केहीलाई मन नपरेको र आफु मन्त्रालयलाई स्पष्टिकरण दिन तयार रहेको डा.पुनले बताएका छन् ।
डाक्टर पुन कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा सबैभन्दा धेरै जानकारी गराई जनतालाई सुसुचित गराउने अभियानमा अग्रपक्तिंमा छन् । जापानबाट अध्ययन पूरा गरेका संक्रमण रोग विशेषज्ञ डाक्टर पुन यसअघि पनि सरुवा रोगको बारेमा अधिक जानकारी प्रवाह गराउने मिडिया फ्रेन्डली डाक्टरको रुपमा परिचित छन् ।
पुनले विभिन्न सञ्चार माध्यम तथा लेखहरुमार्फत सरुवारोगको सन्दर्भमा जनतालाई सुसुचित गराउने र सरोकारवालालाई झक्झक्याउँदै आएका छन् । नेपालमा कोरोना भाइरस विरुद्ध पूर्वतयारी गनुपर्ने कुरामा पनि उनले जोड दिँदै आएका थिए ।
नेपालमा कोरोना पुष्टि भएपछि पनि संक्रमित तथा संक्रमणको सम्भावना भएकाहरुको उपचारका साथसाथै जनचेतना फैलाउने काममा उनी सक्रीय रहेका छन् ।
उपचारका साथसाथै सरुवारोगबारे अनुसन्धानमा पनि सक्रिय डा.पुन जनतालाई रोगको बारेमा सरल ढङ्गले बुझाउन माहिर छन् । उनको यो क्षमताको कारण पनि कुनै पनि सरुवारोगबारे जानकारी लिन उनैलाई अधिकाँश मिडियाहरुले पछ्याउने गरेका छन् ।
आफुहरुलाई छायाँमा पारेको झोंकमा अस्पताल र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा उनी भन्दा बरिष्ठहरुले यसअघि पनि कार्बाहीको प्रयास गर्दै आएका थिए । उनको कार्यको आम जनस्तरबाट भने प्रशंसा हुँदै आएको छ ।