काठमाडौँ । सरकारले जारी गरेको ‘लकडाउन’ लाई कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर अहोरात्र खटिँदै आएका उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीहरुका लागि पिपिईको व्यवस्था गरिएकोछ ।
ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसंग सबैभन्दा पहिले ‘फेस’ गर्नु पर्ने हुनाले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेकोछ ।
दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणका लागी महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) तथा पञ्जा लगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।
एसएसपी ढकालले भने, “ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खट्टिनुपर्ने भएकाले माहामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्व साबधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो” । पर्याप्त मात्रामा पिपिई नभएकाले पिपिई नभएका त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मिटरको सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था मिलाएको पनि एसएसपी ढकालले बताए ।
महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर सँगै मास्क, पञ्जा, सावुन आवश्यकता अनुसार बितरण गरिरहेको र कोरोना संक्रमणबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने साबधानी लगायतका बिषयहरुमा नियमित रुपमा ब्रिफिङ समेत गरिरहेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिएका छन् ।
प्रवक्ता श्रेष्ठले लकडाउनलाई कडाईका साथ पालना गराउन खटिने सम्पुर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दुरी कायम राखी चेकजाँच र सवारी व्यवस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताए ।