२१ मंसिर, काठमाडौं । सरकारले हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
अमेरिकाबाट प्राप्त मोडर्ना खोप हिमाली जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । । मन्त्रालयका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गरिनेछ ।
नेपाल आएको एक लाख ८५ हजार डोज मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको छ ।
तत्काल छ लाख फाइजर खोप नेपाल आउने र उक्त खोप पनि बालबालिकालाई लगाइने शाखा प्रमुख दाहालले बताए । दाहालले मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस २ देखि ८ डिग्रीसम्ममा पनि लगाउन मिल्ने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिइन लागेको जानकारी दिए । खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको थियो ।
नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो । मोडर्ना खोप माइनस २५ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने हुन्छ ।
यसअघि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको अमेरिकी खोप फाइजर लगाएको थियो ।