२० भदौ । कास्कीमा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्ब्याइएको छ । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पुनः एक हप्ता थपेको हो ।
कास्कीमा यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । अब भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाईकासाथ पालना गर्ने गरी निषेधाज्ञा कास्की जिल्ला भर लागु हुनेछ ।
अत्यावश्यक कामका लागि भने अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।
प्रशासनले निषेधाज्ञा अवधिभर सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गरेको छ । तर जोर बिजोर प्रणालीमा ट्याक्सी तथा निजी सवारी साधन विहान ६:०० बजे देखि साँझ ८:०० बजे सम्म सञ्चालन गर्न सकिने जनाइएको छ ।
त्यस्तै शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको छ भने तोकिएको मापदण्ड अनुरुप कार्यालय सञ्चालन गर्न सकिनेछ ।
सुरुक्षाका सबै उपाय अपनाएर सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न र कामदार तथा सेवाप्रवाह सञ्चालन गर्न सकिने छ ।
त्यस्तै होमप्याकिङ सेवा दिने गरी मात्र साँझ ७:०० बजेसम्म होटल तथा रेष्टुरेण्टलाई आंशिक रुपमा सञ्चालन गर्न अनुमति दिइएको छ ।