३ साउन, काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ ।
काठमाडौं महानगरसहित जिल्लाका सबै पालिकाहरुमा बसोबास गर्ने १८ वर्ष र सो भन्दा माथीका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको तेस्रो मात्रा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर बढ्न थालेपछि साउन ३ देखि ६ गतेसम्म असन, त्रिपुरेश्वरको राहदानी विभाग, पशुपतिनाथको मन्दिर लगायतका भिडभाड हुने विभिन्न ठाउँहरुमा समेत कोरोना विरुद्धको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्लामा अवस्थित केन्द्रिय अस्पतालहरुसहितका १४ सरकारी र ग्रान्डी, एनएमसी, पिएमसी लगायतका निजी अस्पतालमा पनि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
काठमाडौंमा हालसम्म २३ प्रतिशतले मात्र कोरोना विरुद्धको तेस्रो मात्रा लगाएको अधिकारीले बताए । उनका अनुसार कोरोना भाइरसको पहिलो र दोस्रो डोज भने शतप्रतिशतले लगाएका छन् ।
अधिकारीले खोप कार्ड नभएको वा साथमा नल्याएको अवस्थामा पनि बुस्टर डोज लगाइने जानकारी दिए । बुस्टर डोज खोप लगाउन भने पूर्ण मात्रा अर्थात दोस्रो डोज लगाएको ३ महिना पूरा भएको हुनुपर्नेछ ।
त्यस्तै कसैले कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप नलगाएको भएपनि उक्त अवधीमा खोप दिइने छ ।
खोप मिक्स हुँदा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक शक्ति बढाउन झन् प्रभावकारी भएको पाइएकोले यसअघि अन्य जुनसुकै खोप लगाएकाले पनि कोभिसिल्ड खोप लगाउन सकिने अधिकारीले जानकारी दिए ।

काठमाडौंमा हालसम्म ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख ६ हजार निको भएका छन् । हाल काठमाडौंमा ३५२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले बताए ।
जिल्लाको तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भने संक्रमण शुन्य छ भने काठमाडौं महानगरमा सबैभन्दा बढी संक्रमित छन् ।